नवलपरासी पूर्व (नवलपुरमा) सोमबारराति भएको सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । दुई जना गम्भिर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार देवचुली नगरपालिका –२, दुम्कौलि चोक स्थित नवनिर्मित कल्भर्ट नजिक दुई वटा ट्रक एकआपसमा ठक्कर खाँदा दुई जना चालकको घटनास्थलमै मृत्यु भएको हो ।

पुर्वबाट आउँदै गरेको ना ७ ख ७०२३ नम्वरको ट्रक र पश्चिमबाट जाँदै गरेको ना ६ ख ३०११ नम्वर को ट्रक एक आपसमा ठक्क्र खाँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा ना ७ ख ७०२३ नम्वरका चालक हेडौटा उपमहानगरपालिका घर भएका ३४ वर्षीय राजकुमार न्यौपाने र अर्को ट्रकका चालक पोखरा महानगरपालिका घर भएका ५१ वर्षीय खेम बहादुर विश्वकर्मा रहेको डिएसपी गिरीले जानकारी दिनुभयो ।

ट्रकका सहचालक बबई गाउँपालिका ६ दाङका २३ बर्षीय घनश्याम खड्का र बन्दीपुर गाउँपालिका ३ तनहुँका १८ वर्षीय विश्वास शाही गम्भीर घाइते भएको र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उहाँले बताउनुभयो ।