निर्वाचन आयोगले आगामी चुनावको बारेमा छलफल गर्न राजनीतिक दलहरुलाई बोलाएको छ । चुनावको बारेमा दलका प्रतिनिधिसँग छलफल गर्न आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाकारी दिए ।

श्रेष्ठले भने ‘हामीले संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई छलफलका लागि विहान ११ बजे बोलाएका छौं, आयोगले निर्वाचन आचारसंहिताको विषयमा राजनीतिक दलसँग छलफल गर्नेछ ।’ सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनावको घोषणा गरेको छ ।

आयोगले आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ। सोही मस्यौदामा रहेर दलका प्रतिनिधिहरुसँग सुझाव लिन लागेको हो । दलको सुझावपछि आयोगले आचारसंहिताबारे निर्णय गर्ने श्रेष्ठले जानकारी दिए ।

आयोगले चुनावमा राजनीतिक दल र उमेदवारले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधानसहितको मस्यौदा तयार पारेको छ । निर्वाचन आयोगले चुनावलाई मितव्ययी, पारदर्शी बनाउन तयार पारेको मस्यौदामा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर खर्च गर्नुपर्ने उल्लेख छ ।

निर्वाचन खर्चसम्बन्धी आचारसंहितामा दलको विधानबमोजिम आधिकारिक प्रतिनिधिद्वारा खर्च गर्नुपर्ने, आयोगले तोकेकोभन्दा बढी खर्च गर्न नपाउने, खाता सञ्चालन तथा निर्वाचन खर्चको कारोबार पारदर्शी हुनुपर्ने आयोगको प्रस्ताव छ ।

त्यस्तै, पाँच हजारभन्दा बढी चन्दा लिनुपर्ने भए बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने गरी आयोगले मस्यौदा बनाएको छ ।