काठमाडौं । हिउँद याममा विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरी किर्तीमान बनाएका नेपाली पर्वतारोहण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उनीहरुलाई मोटरसाइकल र्‍यालीसहित तीनकुने, नयाँ बानेश्वर, माइतिघर, थापाथली, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गराइने छ। यस्तै परिक्रमा पश्चात ठमेलमा रहेका होटेल वैशालीमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले स्वागतसहित सम्मान गर्ने कार्यक्रम रहेको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले बताए।

पाकिस्तानमा रहेको माउन्ट केटुको उचाइ ८ हजार ६ सय ११ मिटर छ। विश्वको ८ हजार भन्दा अग्ला हिमालमध्ये माउन्ट केटुमात्रै हिउँदयाममा आरोहण हुन सकेको थिएन। कसैले आरोहण गर्न नसकेको माउण्ट केटुको नेपाली टोलीले सफलता पूर्वक आरोहणसँगै विश्व कीर्तिमान रचेका थिए।

इतिहास रच्ने क्रममा नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा ले संयूक्त रुपमा यहि माघ ३ गते सफलतापूर्वक आरोहण गरेका थिए ।

उनीहरुलाई पाकिस्तानका राष्ट्रपतिले भब्य स्वागत गरेका थिए। १० आरोहीमध्ये मिङ्मा जी शेर्पाले भने अक्सिजनबिनै आरोहण गरेर एकैसाथ दुइवटा किर्तिमान कायम गरेका थिए ।