प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भनेर विज्ञप्ति निकाल्ने चार पूर्वन्यायाधीशमाथि आक्रोश व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा पार्टी निकट युवा संघ बागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित नगर्न र नधम्क्याउन चेतावनी दिएका हुन । उनले संवैधानिक इजलासमा रहेको मुद्दामा सडकबाट फैसला नगर्न पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले पूर्वप्रधानन्यायाधीशहरूले अदालतलाई धम्क्याउने, अलमल्याउने र गुमराहमा पार्न खोजेको पनि बताए । एकपल्ट अदालतमा जागिर खाएको भरमा बाहिर आएर जथाभावी बोल्न नहुने उनको भनाइ छ ।

उनले संसद विघटनविरुद्धमा लागेकाहरू ‘हण्डीबाट चलेको’ आरोप लगाएका छन् । पार्टी भित्रैबाट सरकारलाई काम गर्न असहयोग गरेपछि आफू पेलेरै अगाडि बढेको स्पष्टिकरण समेत प्रधानमन्त्री ओलीले दिए । आफू दुई तिहाईको प्रधानमन्त्री भएकाले संसदमा कुनै विकल्प नरहेको भन्दै संसद पुनःस्थापना नहुने प्रधानमन्त्री ओलीले दोहो¥याए ।

अब मुलुक निर्वाचनमय भएकाले तोकिएकै मितिमा निर्वाचन हुने ओलीको दावि छ । निर्वाचन हुनेमा अन्योल र भ्रममा नपर्न उनको आग्रह थियो । उनले दाहाल–नेपालको समूहलाई जहाँ जति सक्यो त्यति धज्जी उडाउन कार्यकर्तालाई निर्देशन दिए ।

उनले दाहाल नेपालले आफ्नो मृत्यु होला र पद पाउँला भनेर ढुकेर बसेको टिप्पणी गरेका छन् । नेपाल कहिल्यै चुनाव जितेर नेतृत्वमा नआएको भन्दै २ ठाउँमा हारेर प्रधानमन्त्री र अध्यक्षमा हारेको भोलिपल्टदेखि अध्यक्ष चाहियो भनेर बार्गेनिङ गरेको ओलीको आरोप छ ।

ओलीले दाहालमाथि टिप्पणी गर्दै दोस्रो अध्यक्ष दिएपछि आफैं पहिलो अध्यक्ष जसरी हिँड्न थालेपछि कार्यकारी जिम्मेवारी खोसेको बताए ।