प्रदेश १ सरकारका मन्त्रिपरिषद्का एकजना मन्त्रीसहित दुई राज्यमन्त्रीले राजीनामा दिएका छन ।
मुख्यमन्त्री शेरधन राई समक्ष सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयविश्वास थारुले आइतबार राजीनामा दिएका हुन ।
नेकपा भित्रको विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटनपछि विकसित घटनाक्रम र राजनीतिक असहज परिस्थितिका कारणले मन्त्री राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको राजीनामामा उल्लेख गरिएको छ ।
नेकपाको विवादसँगै शनिबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए ।
यसैबीच आजै प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव पक्षका नेताहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको बुझिएको छ ।
मुख्यमन्त्रीका प्रतिस्पर्धीका रुपमा देखा परेका भीम आचार्यको नेतृत्वमा राईमाथि अविश्वासको प्रस्ताव राखिने तयारी भईरहेको स्रोतले जनाएको छ ।








