औपचारिक विभाजनको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहले आज छुट्टाछुट्टै ठाउँमा केन्द्रीय कमिटी बैठक बोलाएका छन ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन भने प्रचण्ड–माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक कार्की ब्यांक्वेट बबरमहलमा दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक आव्हान गरेको छ ।
नेकपाको अलग अलग बैठक हुन थालेपछि पार्टी अनौपचारिक रुपमा फुटको संघारमा पुगिसकेको तर औपचारिकरुपमा घोषणा हुन मात्र बाँकी रहेको नेताहरुको बुझाई छ ।
हिजो सोमबार पनि दुवै पक्षका अलग अलग भेलाहरु सम्पन्न भएका थिए । हिजो अध्यक्ष ओलीले आफ्नो पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुलाई विहान ९ बजेकालागि बालुवाटारमा बोलाएर छलफल गरेका थिएभने अर्का अध्यक्ष प्रचण्ड पक्षकाले नयाँ बानेश्वरस्थित संसद भवनमा छलफल गरेका थिए ।
दुवै पक्षले केन्द्रीय समितिको बैठकबाट एकअर्का अध्यक्षलाई कारबाही गर्ने तथा पार्टीको वर्तमान संकट र अगाडि बढ्ने रणनीतिबारे छलफल र निर्णय गर्ने दुवै पक्षका नेताहरुले बताएका छन । नेकपा दुई खेमामा विभाजित भएपछि नेता तथा विघटित सांसदहरुलाई आफ्नो पक्षमा तान्ने कसरत चलिरहेको छ ।








