प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने पुनरावेदन गर्न जाने भनेको जनतामा नै भएको र आफूले त्यही गरेको बताउनु भएको छ ।

सोमबार देशवासीको नाममा टेलिभिजन मार्फत सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रतिनिधिसभा विघटन भएपछि नागरिकको चासो बढेपछि त्यसलाई प्रष्ट पार्न प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको सत्तास्वार्थका कारण उत्पन्न घटना भएको बताउनुभएको छ ।

उहाँले निर्वाचनपछि नै राष्ट्रिय राजनीतिलाई विसङ्गत र अस्थिर बनाउने काम भएको र जनअपेक्षानुरुप सरकारले काम गर्न थाले पनि केही नेताहरुले निरन्तर अस्थिरताका लागि प्रयास गरेको आरोप लगाउनुभयो ।

नेकपाका अध्यक्ष ओलीले विपक्षी नेतालाई पनि उछिनेर आफ्नो पार्टीभित्रका केही नेताहरु पद र प्रतिष्ठामा मात्र केन्द्रित रहेको पनि जिकिर गर्नुभयो ।

हेर्नुहोस सम्वोधनको पूर्ण भिडियो