देशभर व्यवस्था विरोधी प्रदर्शन चर्कदै गएपछि प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । राजसंस्थाको पक्षमा प्रदर्शन चर्कदै गएपछि साझा धारणा बनाउन ओलीले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठक आज बिहान एघार बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका पार्टीका नेताहरुलाई बोलाइएको छ ।

वर्तमान व्यवस्थाले देशको अर्थतन्त्र र अखण्डता दुवैलाई कमजोर बनाएको भन्दै प्रदर्शनकारीले गणतान्त्रिक व्यवस्था खारेज गर्न समेत माग गरेपछि प्रधानमन्त्री ओलीले सबै दलको राय लिन लागेका हुन् ।

सत्तारुढ नेकपाभित्र विवाद चुलिएको समयमा प्रधानमन्त्री ओलीले आब्हान गर्ने बैठकमा कोरोना संक्रमण नियन्त्रणको प्रयास लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिने उद्देश्यले यो बैठक बोलाइएको हो। प्रधानमन्त्री ओलीले दलबीच एकता र राष्ट्रिय सहमति कायम गराउन समय समयमा सर्वदलीय बैठक बोलाउँदै आएका छन् ।

यसअघि नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ मा उनले सर्वदलीय बैठक बोलाएका थिए ।