प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो ।

सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् ।

फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।

केही वर्ष अघिसम्म तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । अघिल्ला वर्षहरुमा छठ पूजा गरिने राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायतका नदी किनार कोरोना महामारीका कारण यस वर्ष भने सुनसान छन् ।

कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपतिले समेत छठ पूजा गर्ने गरेकोमा यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।