नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । यसअघि सचिवालय बैठक प्रभावित हुनेगरी प्रम ओलीले सोहि समयमा मन्त्रीपरिषदको बैठक बोलाएका थिए ।
गत शुक्रबार सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचनामा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेजको प्रस्ताव पेश गरेका थिए । कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए भने उनले आजको बैठक नराख्न लबिङ गर्दै आएका थिए ।
तर दाहाल सहितका पाँच जना सचिवालय सदस्य आज जसरी पनि बैठक गर्ने तयारी गरेपछि ओलीपनि अन्ततः बैठकमा सहभागी हुने निश्चित भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा दिउँसो १ बजे सचिवालय बैठक र २ बजे क्याबिनेट बैठक बस्ने तय भएको जानकारी दिएका छन ।
नेकपाभित्रको विवाद उग्र बन्दै गएपछि मंगलबार दिनभर नेताहरुको दौडधुप बढेको थियो भने राष्ट्रपतिले समेत चासो देखाउँदै ओली र प्रचण्डसँग छलफल गरेकी थिइन् ।








