प्रदेश ५ को स्थायी राजधानी र नामाकरण प्रस्तावमा आज मतदान हुँदैछ । मतदान गर्न मध्याह्न १२ बजे प्रदेश सभा बैठक डाकिएको छ । शुक्रबार प्रदेश सभामा पेस भएको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल विवादबीच सोमबार सकिएको थियो ।
आज मध्यान्ह १२ बजे बस्ने बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी ‘सोनाम’ले पेश गरेको प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावमा मतदान हुने सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार मतदानका लागि सबै तयारी पूरा भएको छ । मन्त्री केसीले गरेको प्रस्तावमा दुई तिहाई पुगेमा राजधानीको नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ रहनेछ ।
प्रदेश ५ को प्रदेशसभामा ८७ जना सांसद रहेका छन् । जसमा नेकपाका मात्र ६१ जना छन् । तीमध्ये सभामुखबाहेक ६० सांसदले मतदान गर्नेछन् । नेकपाको दुई तिहाई बहुमत भएपनि नेकपाका १४ जना सांसदले नोट अफ डिसेन्ट लेख्दै प्रस्तावको विपक्षमा जाने संभावना भएकोले प्रस्तावको पक्षमा दुई तिहाई नपुग्ने अनुमान गरिएको छ । कांग्रेसका १९ सांसदमध्ये लुम्बिनी क्षेत्रका १३ ले विपक्षमा र राप्ती र भेरीका ६ जनाले प्रस्तावको पक्षमा मतदान गर्ने सम्भावना छ । त्यस्तै, जनता समाजवादीका ६ मध्ये ३ ले पक्षमा र २ ले विपक्षमा मतदान गर्ने जानकारी दिएका छन् । एक मात्र सांसद रहेको राष्ट्रिय जनमोर्चाले पनि अहिलेसम्म निर्णय सार्वजनिक गरेको छैन ।
यद्यपी, नेकपाको संसदीय दलको सोमबारको बैठकले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ भने नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।








