विख्यात हिमआरोही आङरिता शेर्पाको निधन भएको छ। ‘हिम चितुवा’ उपनामले चर्चित आङरिताको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनले बिना अक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारण उनलाई ‘हिम चितुवा’ उपनाम दिइएको थियो ।

आङरिता शेर्पाको जन्म सोलुखुम्बुको थामेमा भएको थियो । उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए ।

पर्वतारोही शेर्पा लामो समयदेखि बिरामी थिए । उनी तीन वर्षअघिदेखि बिरामी परेर थलिएका थिए । १० पटक अक्सिजन बिनै सगरमाथा आरोहण गर्ने शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र त्यस बेलाको सरकारले थप स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि विश्राम लिएका थिए ।