गएराति पृथ्वी राजमार्गमा दुर्घटनामा परेको तेल ट्याङ्कर भारतको बरौलीबाट पेट्रोल लिएर राजधानी काठमाण्डौ आएको खुलेको छ ।

ना ४ ख २८२२ नम्वरको ट्याङ्कर गए राति २ बजे दुर्घाटना भएको राजमार्ग प्रहरीले जानकारी दिएको हो ।

ट्याङ्कर सडकबाट करिव दुई सय मिटर तल त्रिशुली नदीमा खसेपछि सम्पर्क विहिन भएका चालक अहिले सम्पर्कमा आएका छन ।

हेटौंडा घर भएका ट्याङ्कर चालक ३२ वर्षीय सुदिप बोहोरालाई मुग्लिनबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्टेरिङ्ग फेल भई ट्याङ्कर दुर्घटना भएको चालक बाहोराको भनाइ उद्दत गर्दै ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख विश्व राज खड्काले जानकारी दिनु भएको छ ।

ट्याङ्करका सहचालक मकवानपुर बसहा माडी घर बताउने मनिष नगरकोटी पनि सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

थप अनुसन्धानका लागि दुबैलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।

भारतको बरौलीबाट बीस हजार लिटर पेट्रोल लिएर थानकोट डिपोका लागि ट्याङ्कर काठमाडौं आउँदै गर्दा धादिङमा दुर्घटना भएको हो ।