गैरआवासीय नेपाली संघ (एनआरएनए) सेसेल्सका संस्थापक, निवर्तमान अध्यक्ष तथा अफ्रिका क्षेत्रीय पूर्व उपसंयोजक रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘अफगानिस्तानको आगो’को लोकार्पण भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को संयोजनमा पोर्चुगलमा आयोजना गरिएको एक भव्य समारोहबीच नेपाली दूतावास पोर्चुगलका राजदूत प्रकाशमणि पौडेल, द्दितिय सचिव रामबाबु नेपाल, कार्यक्रम अध्यक्ष सबी श्रेष्ठ र लेखक पन्तले संयुक्तरुपमा पुस्तक लोकार्पण गरेका हुन ।

प्रमुख अतिथि राजदूत पौडेलले पुस्तकलाई आप्रवासी नेपालीको संघर्ष र अनुभवको दस्तावेज संज्ञा दिए ।

कार्यक्रममा बोल्दै लेखक पन्तले अफगानिस्तानमा बिताएका झण्डै सात वर्षे बसाइँका अनुभवहरूलाई नै पुस्तकको मूल कथा बनाएको जानकारी दिए । उनले युद्धपीडित भूमिमा काम गर्दा भोगेका कठिनाइहरू, देखिएका मानवीय पक्षहरू र आफ्नै अनुभूतिहरूलाई शब्दमार्फत व्यक्त गर्न खोजिएको उल्लेख गरे ।

कार्यक्रममा वक्ताहरूले नेपालीको भोगाईलाई शब्दमा उतार्नु आफैमा उत्कृष्ट विषय भएको भन्दै उक्त पुस्तक भोगाई र अनुभवको दस्तावेज बताएका थिए। कार्यक्रममा पोर्चुगलमा रहेका विभिन्न नेपाली संघसंस्था, साहित्यकार तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।