काठमाडौं । साउदी अरब रोजगारीका लागि लागू गरिएको स्किल भेरिफिकेशन प्रोग्राम (एसभीपी) सम्बन्धी विवादकाबीच मदरल्याण्ड ओभरसिज प्रालिले आफ्नो नाम जोडेर सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलाइएका सूचना भ्रामक रहेको जनाएको छ ।

मदरल्याण्ड ओभरसिज करिब तीन महिनाअघि नै काठमाडौं महानगरपालिका–टोखा नगरपालिका–७ स्थित आफ्नो पुरानो कार्यालयबाट स्थानान्तरण गरिसकेको बताउदै कम्पनीका अध्यक्ष टेक बहादुर पौडेलले हाल उक्त स्थानमा इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रालि तथा साउदी अरबका लागि लागू गरिएको स्किल भेरिफिकेशन प्रोग्राम (एसभीपी) सञ्चालन भइरहेकोमा उक्त कार्यक्रमसँग मदरल्याण्ड ओभरसिजलाई जोडेर अनावश्यक भ्रम फैलाइएको स्पष्ट पारे ।

‘एसभीपी कार्यक्रम सञ्चालन भइरहेको भवनलाई आधार बनाएर मदरल्याण्ड ओभरसिजको नाम र लोगोसमेत जोडेर विभिन्न माध्यममा सूचना प्रसारित गरिएकोमा हाम्रो आपत्ति छ’ रोजगारमञ्चसँगको कुराकानीमा अध्यक्ष पौडेलले भने ‘इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रालि र एसभीपी कार्यक्रममा मेरो कम्पनी, म र मेरा परिवारका कुनै पनि सदस्यको संलग्नता छैन ।’

‘यस मदरल्याण्ड ओभरसिज प्रा.लि. स्वच्छ प्रतिस्पर्धामा विश्वास गरी जुनसुकै नाम र आवरणमा हुने सिण्डिकेट र एकाधिकारको विरुद्धमा रहेको व्यहोरा सबैलाई जानकारी गराउछौ’ पौडेलले भने ।

पौडेलले तथ्यहीन र भ्रामक सूचना नफैलाउन आग्रह गर्दै यस्ता गतिविधिले व्यवसायिक प्रतिष्ठामा असर पुग्ने जनाएका छन । ‘यस विषयमा थप जानकारी चाहिए सम्पर्क गर्न र अनावश्यक प्रचारवाजी र हल्लाको पछि नलाग्न सबैमा अनुरोध गर्दछौ’ उनले भने ।

साउदी अरबले बुधबारदेखि लागू गरेको एसभीपी कार्यक्रमको विरोधमा वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन गरिरहेका छन् । एसभीपी कार्यक्रमको कार्यालय रहेको स्थानमा पहिला मदरल्याण्ड ओभरसिज रहेकोमा सो कार्यक्रमसँग सम्बन्धित विवादमा मदरल्याण्ड ओभरसिजलाई जोडेर गरिएका प्रचार वास्तविकताभन्दा फरक रहेको कम्पनीको दाबी छ ।

नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य साउदी अरबले नेपाल सरकारसँग पर्याप्त समन्वय नगरी बुधबारदेखि स्किल भेरिफिकेशन प्रोग्राम (एसभीपी) अनिवार्य रूपमा लागू गरेपछि वैदेशिक रोजगार व्यवसायीहरूले विरोध प्रर्दशन गरेका थिए ।

बसुन्धारास्थित इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रालि परिसरमा एसभीपीको औपचारिक उद्घाटन गर्ने तयारी भइरहेका बेला मेनपावर व्यवसायीहरूले विरोधस्वरूप केन्द्रको गेट तथा कार्यालयमा तोडफोडसमेत गरेका छन् । व्यवसायीहरूले श्रमिकमाथि अतिरिक्त आर्थिक भार थप्ने गरी कार्यक्रम लागू गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

नयाँ व्यवस्थाअनुसार अब साउदी अरब रोजगारीका लागि जाने नेपाली श्रमिकले सामान्य श्रम क्षेत्रका कामका लागि समेत अनिवार्य सीप परीक्षण उत्तीर्ण गर्नुपर्नेछ । सामान लोड–अनलोड गर्ने, भरिया, ठेला चलाउने तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकलाई समेत सीप परीक्षणको दायरामा समेटिएको छ ।

यस प्रक्रियाका लागि प्रत्येक श्रमिकले १०० अमेरिकी डलर (करिब १५ हजार रुपैयाँ) अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । जसमा ५० डलर परीक्षा शुल्क र ५० डलर पूर्वसिकाइ मान्यता शीर्षकमा शुल्क निर्धारण गरिएको छ । उक्त व्यवस्थाप्रति श्रमिक, व्यवसायी तथा सरोकारवाला पक्षबाट व्यापक विरोध भइरहेको छ ।