काठमाडौं, जेठ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही जेठ २४ गते हुने नयाँ नेतृत्व चयनको निर्वाचनमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका तर्फबाट प्रथम उपाध्यक्ष पदका उम्मेदवार कर्णराज कटुवाल चुनावी मैदानमा उत्रिएका छन्।
संघको सचिव पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका कटुवाल वैदेशिक रोजगार व्यवसायीमाझ सालीन, बौद्धिक तथा जिम्मेवार नेतृत्वका रूपमा परिचित छन्। अघिल्लो कार्यसमितिको निर्वाचनमा महासचिव पदमा झिनो मतान्तरले पराजित भए पनि उनी व्यवसायीका हकहित, पेशागत समस्या समाधान तथा संघको सुदृढीकरणका लागि निरन्तर सक्रिय रहँदै आएका छन्।
उम्मेदवारी घोषणा गर्दै कटुवालले वैदेशिक रोजगार व्यवसायीहरूको हित, श्रमिकको सुरक्षा तथा व्यवसायको गरिमा अभिवृद्धिलाई केन्द्रमा राखेर आफ्नो उम्मेदवारी अघि सारेको बताएका छन्। उनले अनुभव, दक्षता र प्रतिबद्धतासहित व्यवसायीको साझा आवाज बन्ने तथा संघलाई अझ प्रभावकारी र उत्तरदायी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कटुवालले आफ्नो प्रमुख एजेण्डाअन्तर्गत सरकारसँग प्रभावकारी समन्वय र नीतिगत सहकार्य, कानुनी सहायता तथा व्यवसायीका समस्या समाधानमा सक्रिय पहल, स्वच्छ, पारदर्शी र उत्तरदायी संस्थागत प्रणालीको विकास, व्यवसाय प्रवर्द्धन र दिगो विकासका कार्यक्रम तथा व्यवसायीबीच एकता, सहकार्य र हकहित संरक्षणलाई प्राथमिकतामा राखेका छन्।
उनले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक व्यवसायका रूपमा स्थापित गर्न नीति सुधार, पूर्ण डिजिटल प्रणाली र पारदर्शिताको प्रवर्द्धन, श्रमिक सुरक्षा तथा सीप विकास, नयाँ श्रम बजार विस्तार, रोजगारी र लगानीका अवसर प्रवर्द्धन तथा सरकार, व्यवसायी र श्रमिकबीच सुदृढ साझेदारी आवश्यक रहेको बताएका छन्।
कटुवालले व्यवसायीहरूको विश्वास र साथ पाए संघको संस्थागत सुदृढीकरणसँगै वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र पुस्तान्तरणयोग्य व्यवसायका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहने बताएका छन्।








