काठमाडौं, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही जेठ २४ गते हुने विशेष साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा द्धितीय उपाध्यक्ष पदका उम्मेदवार अनिल बोगटीले व्यवसायीको हकहित संरक्षण, नीतिगत सुधार तथा वैदेशिक रोजगार क्षेत्रको संस्थागत विकासलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् ।

डिक बहादुर खत्री नेतृत्वको संयुक्त व्यवसायी प्यानलबाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका बोगटी वैदेशिक रोजगार क्षेत्रका युवा, जुझारु तथा स्पष्ट वक्ताका रूपमा परिचित छन् । कन्फिडेन्टल इन्टरनेशनल म्यानपावरका सञ्चालकसमेत रहेका बोगटी व्यवसायीका सुख–दुःखमा निरन्तर साथ दिने व्यक्तित्वका रूपमा आम व्यवसायीमाझ परिचित रहेका छन ।

उम्मेदवारी घोषणासँगै उनले वैदेशिक रोजगार क्षेत्रलाई समयानुकूल, व्यवस्थित तथा व्यवसायमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । ‘फ्रि भिसा–फ्रि टिकट नीतिमा समयसापेक्ष सुधार, श्रम नीतिमा आवश्यक परिमार्जन तथा वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र पुस्तान्तरणयोग्य उद्योगका रूपमा विकास गर्न हाम्रो जोड रहनेछ’ उनले भने ।

बोगटीले स्रोत मुलुक तथा गन्तव्य मुलुकसँग सम्बन्धित नीतिगत समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने, श्रमिकका दाबी–दावी तथा समस्या समाधानका लागि स्पष्ट कानुनी व्यवस्था र सरकारी सहकार्य आवश्यक रहेको धारणा राखेका छन् । उनले व्यवसायी, श्रमिक र सरकारबीच सहकार्य र विश्वासको वातावरण निर्माण गर्दै क्षेत्रका विद्यमान समस्याको समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संयुक्त व्यवसायी प्यानलले वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, व्यवस्थित र व्यवसायीमैत्री बनाउने लक्ष्यसहित अनुभवी तथा ऊर्जाशील नेतृत्वलाई चुनावी मैदानमा उतारेको जनाएको छ ।