काठमाडौं, जेठ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही जेठ २४ गते हुने विशेष साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले संघका पूर्वमहासचिव मेघनाथ भुर्तेलको नेतृत्वमा आफ्नो सार्वजनिक गरेको छ ।
फोरमले अध्यक्षमा भूर्तेल, प्रथम उपाध्यक्षमा कर्णराज कटुवाल, द्धितिय उपाध्यक्षमा रविन मेगाले मगर, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा अमर तिवारी, सचिवमा रामकाजी भ्लोन, कोषाध्यक्षमा विद्यारत्न बज्राचार्यलाई चुनावी मैदानमा अघि सारेको छ ।
यस्तै सदस्यहरुमा राजेश मैनाली, कैलाश पाठक, देउ बहादुर गौतम (सविन), टंक प्रसाद पंगेनी, गिता राउत, भिम माया कार्की, दिक्षा थपलिया, रोशना निरौला, दिपक कुमार देव र हिरालाल गौडेललाई अघि सारेको छ ।
उम्मेदवारी घोषणासभामा बोल्दै अध्यक्षका उम्मेदवार भूर्तेलले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, व्यवसायमैत्री तथा श्रमिकमैत्री बनाउने उद्देश्यसहित १० बुँदे एजेण्डा सार्वजनिक गरेका छन ।
उनले वैदेशिक रोजगार ऐन, नियमावली र निर्देशिकाको समयानुकूल संशोधन, श्रमिक र व्यवसायी दुवैको हित संरक्षण हुने स्पष्ट नीतिगत व्यवस्था तथा लागत खर्चको वैज्ञानिक निर्धारणमा जोड दिएका छन । यस्तै फ्रि भिसा–फ्रि टिकट नीतिको यथार्थपरक पुनरावलोकनमा उनले जोड दिएका छन ।
भूर्तेलले सरकार, व्यवसायी र श्रमिक प्रतिनिधिबीच नियमित संवाद संयन्त्र स्थापना गरी साझा समस्याको साझा समाधान खोज्ने तथा त्रिपक्षीय सहकार्यलाई संस्थागत गर्ने प्रतिवद्धता जनाएका छन ।
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले अनुभव, व्यवसायिक दक्षता र क्षेत्र सुधारको स्पष्ट कार्ययोजनाका आधारमा आफ्नो टिम चुनावी मैदानमा उतारेको जनाएको छ ।
एशोसिएसनका अनुसार वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान गर्दै व्यवसायीको सम्मान, श्रमिकको सुरक्षा र राष्ट्रको समृद्धिलाई केन्द्रमा राखेर आगामी कार्यकालमा प्रभावकारी नेतृत्व प्रदान गर्ने लक्ष्यका साथ उक्त प्यानल सार्वजनिक गरिएको हो ।








