जापान रोजगारीका लागि जाने नेपालीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको प्रशिक्षण केन्द्र औपचारिक रूपमा उदघाटन गरिएको छ । जापान केन्द्रित रोजगारी तयारी तालिम सञ्चालन गर्ने फरडेज नेपाल प्रा. लि.को नेपालको आधिकारिक प्रतिनिधि रहेको ब्लुस्काई ग्रुपले उक्त प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हो ।

प्रशिक्षण केन्द्रको उदघाटन फरडेज कम्पनीका प्रतिनिधि, श्रम सचिव डा. दिपक काफ्ले, जापानका लागि पूर्वराजदूत मदन भट्टराई, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ र ब्लुस्काई ग्रुपका अध्यक्ष प्रेम कटुवालले सयुक्तरुपमा गरेका हुन ।

फरडेज नेपालले जापानमा रोजगारीका लागि जाने नेपालीहरूलाई नेपालमै सीपयुक्त, क्षमतायुक्त र दक्ष बनाउने उद्देश्य राखेको जनाएको छ । यस प्रकारको व्यावहारिक र क्षेत्रगत तालिम प्रदान गर्ने अवधारणालाई नेपालमै पहिलो अभ्यासका रूपमा लिइएको छ ।

कम्पनीले टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम र स्पेसिफाइड स्किल्ड वर्कर कार्यक्रम अन्तर्गत जापान जान इच्छुक नेपालीहरूलाई प्रशिक्षण दिनेछ । तालिम विशेषगरी तीन क्षेत्र खानपान सेवा, फाइन डाइनिङ, जेष्ठ नागरिकको स्याहार–सुसारमा केन्द्रित रहेको ब्लुस्काई ग्रुपका अध्यक्ष कटुवालले बताए ।

जापानी भाषा परीक्षा उत्तीर्ण गरी रोजगारीका लागि अन्तर्वार्ता पास गरेका तथा अध्यागमनबाटसर्टिफिकेट अफ एलिजिबिलिटी प्राप्त गरिसकेका सहभागीहरूलाई १३० घण्टाको व्यावहारिक तालिम दिइनेछ । कम्पनीले प्रत्येक क्षेत्रमा वार्षिक ३०० जनाका दरले कुल ९०० जनालाई तालिम दिने लक्ष्य राखेको जनाएको छ ।

जापान पुगेपछि पुनः तालिम लिनुपर्ने अवस्थालाई न्यूनिकरण गर्न कामको प्रकृति, कार्यसंस्कृति, भाषा, नियम–कानुन र जीवनशैली सम्बन्धी जानकारी नेपालमै प्रदान गर्ने लक्ष्य यस तालिम केन्द्रको रहेको छ ।

ब्लुस्काई ग्रुपको सहकार्यमा फरडेज नेपालको तालिम केन्द्र सञ्चालनमा

जापानबाट आएका प्रशिक्षकमार्फत तालिम सञ्चालन गरिने भएकाले सिकाइ थप प्रभावकारी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै, जापानमा काम गर्न छनोट भएका सहभागीहरूको तालिम खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्ने व्यवस्था गरिएको अध्यक्ष कटुवालले बताए ।

विद्यार्थी भिषामा जापान जाने धेरै नेपालीहरूले भाषा मात्र सिकेर ठूलो रकम खर्च गर्ने तर आवश्यक व्यवहारिक सीपको अभावमा समस्या भोग्ने गरेको अवस्था रहेको कम्पनीको भनाइ छ । त्यसैले भाषा, सीप, दक्षता र कार्यसंस्कृतिसहित तयारी गरेर जाँदा रोजगारी सहज हुने र अनावश्यक आर्थिक भार समेत कम हुने अपेक्षा गरिएको छ ।

कम्पनीले आवश्यकता अनुसार भविष्यमा नेपालका अन्य स्थानमा पनि सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

नेपालमै सीप विकास गराएर दक्ष जनशक्ति तयार पार्ने लक्ष्यसहित सञ्चालनमा आएको यो तालिम केन्द्र वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउने नयाँ पहलका रूपमा हेरिएको छ ।