उपत्यकाको विभिन्न क्षेत्रमा क्रियाशिल रहेका कृषकहरु आफ्नो कृषि पेशामा सरकारी अनुदान पाएपछि उत्साहित बनेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अनुदान पाएका उपत्यकाका ३ वटै जिल्लाका कृषकहरु उत्साहित बनेका हुन् ।

आर्थिक वर्ष २०८०/८१ मा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा संचालन भएको कृषि कार्यक्रमको अनुगमन परियोजना कार्यन्वयन एकाइ भक्तपुरको संयोजकत्व तथा सम्बन्धित जिल्लाका समन्वय प्रमुखको नेतृत्वमा भर्खरै भएको संयुक्त अनुगमनका क्रममा कृषकहरु सन्तुष्ट र उत्साहि पाइएको हो ।

सरकारी अनुदान पाएका उपत्यका कृषकमा देखियो उत्साह

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ८ देवीस्थानका रमेश सापकोटाले परियोजनाबाट अनुदान स्वरुप ३ लाख ५० हजार रुपैया प्राप्त गरी १९ वटा टनेल निर्माण गरेर के एण्ड मसरुम फर्म संचालन गरिरहेका छन् ।

१८ वर्षदेखि कृषि पेशामा आवद्ध रमेश पहिलोपल्ट अनुदान पाउँदा मख्ख देखिन्थे । ७० लाखभन्दा बढी लगानीमा संचालन गर्दै आएको कृषि फर्मबाट दैनिक १३ सयदेखि १५ सय केजीसम्म च्याउ उत्पादन हुने उनी बताउँछन् ।

त्यस्तै गोदावरी २ की सबिना मानन्धरले बिगत ७ वर्षदेखि सर्वश्रेष्ठ सिड्स प्रा.लि मार्फत् विभिन्न फलफुल तथा तरकारीका बिउ उत्पादन गर्दै आइरहेकी छिन् । परियोजनाबाट विभिन्न मेसिनहरु पाएको बताउँदै उनले यस्तै अनुदान पाएमा अझै उत्पादन बढाउने लक्ष्य रहेको बताइन् ।

सरकारी अनुदान पाएका उपत्यका कृषकमा देखियो उत्साह

कोन्ज्योसोम २ शंखुमा समृद्धि लाकुरी भञ्ज्याङ कृषि तथा पशु फर्म संचालन गर्दै आएका सन्तोष घिमिरे विदेशबाट फर्किएर विगत १२ वर्षदेखि भैसी फर्म संचालन गर्दै आएका छन् । उनी परियोजनाबाट ३ लाख २५ हजार रुपैया सहयोग पाउँदा निकै दंग देखिन्छन् । फर्ममा रहेका ५ वटा भैसीबाट दैनिक ३० लिटर दुध बिक्री गर्ने गरेको उनको भनाई छ ।

सरकारी अनुदान पाएका उपत्यका कृषकमा देखियो उत्साह

जिल्ला समन्वय समिति, ललितपुरका प्रमुख ऋषिदेव फूँयालले ललितपुरमा यो कार्यक्रम निकै प्रभावकारी भएको बताउँदै परियोजनाबाट किसानहरु पनि लाभान्वित भएको बताए । उनले ललितपुरका कृषकहरुका गोठहरु सुधार गर्न गोठसुधार कार्यक्रमलाई अझ व्यापक रुपमा अगाडि बढाउन आवश्यक रहेको समेत जानकारी दिए ।

सरकारी अनुदान पाएका उपत्यका कृषकमा देखियो उत्साह

त्यस्तै कृषि विकास कार्यलय ललितपुरका अधिकृत अर्चना भट्टराईले परियोजनाले एकदमै उपयोगी रहेको बताउँदै यसमा तीनै तहले समन्वय गरेर किसानको वर्गिकरण गरि अनुदान प्रदान गर्न सके कार्यक्रम अझ उपयोगी हुने बताइन् ।

गोदावरी नगरपालिका पशुसेवा विभागका शाखा प्रमुख इश्वर घिमिरेले यो कार्यक्रमले किसानहरुको गोठखोर सुधार भएको अन्य कृषकहरुले पनि सिक्ने अवसर पाएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने उनको भनाई थियो ।

बिदेशबाट अनुभव लिएर भक्तपुर बालकोटमा फर्म संचालन गरेका सम्राट जोशीले सलाद उत्पादन गर्दै आईरहेका छन् । उनले परियोजनाबाट ५ लाख २२ हजार अनुदान लिएर ग्रीन हाउस निर्माण गरेका छन् । उनकी श्रीमती बिन्दु ओझा एमबिए अध्ययन पुरा गरी ५ वर्ष बैंकको मेनेजरको पद छोडेर श्रीमानश्रीमति कृषि पेशामा लागेको बताउँछिन् । अहिले दैनिक २० किलोसम्म सलाद विक्रि गरेर उनीहरुले मनग्ये कमाइ गरिरहेका छन् ।

सरकारी अनुदान पाएका उपत्यका कृषकमा देखियो उत्साह

चाँगुनारणका विखेश्वर भट्टराईले ४० रोपनी जग्गामा टमाटर खेती गरिरहेका छन् । परियोजनाबाट मेसिन, औजार र आर्थिक सहयोग भएको उनको भनाई छ । आगामी दिनहरुमा थप सहयोग भएमा अन्य जग्गा थप गरेर उत्पादन अझै बढाउने उनले बताए ।

चाँगुनारायणमै ढकाल पोल्ट्री फर्म संचालन गरिरहेका दलबहादुर ढकालले आधुनिक गोठ निर्माण गरि गाईभैसी पालन गर्दै आइरहेका छन् । परियोजनाबाट आफूलाई गोठ निर्माणका लागि अनुदानस्वरुप ३ लाख रुपैया प्राप्त भएको र त्यसले गोठ सुधारका लागि ठूलो सहयोग मिलेको बताउँछन् । ठूलो लगानीमा कृषि पेशा गरिरहेका कृषहरुलाई राज्यले यस्ता अनुदानका कार्यक्रमहरु निरन्तर गर्नुपर्ने उनको भनाई छ ।

सरकारी अनुदान पाएका उपत्यका कृषकमा देखियो उत्साह

१० वर्ष विदेश बसेर आएका कुबेर गिरीले सुपादेउराली एग्रो फार्म संचालन गरिरहेका छन् । विगत ६ वर्षदेखि गिरीराज कुखुरा पालेर चल्ला उत्पादन गरि बिक्री वितरण गर्दै आएका उनले टहरा निर्माणका लागि परियोजनाबाट ३ लाख ५० हजार रुपैया अनुदान पाएको बताउँछन् । अनुदानबाट आफु एकदमै लाभान्वित भएको बताउँदै उनले अब नेपालमै बसेर व्यवसायलाई बढाउँदै लैजाने लक्ष्य रहेको जानकारी दिए ।

सरकारी अनुदान पाएका उपत्यका कृषकमा देखियो उत्साह

अनुगमनका क्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाले परियोजनाबाट सही कृषकले अनुदान पाएको र अनुगमन एकदमै फलदायी भएको जानकारी दिए । ‘हामीले दिएको थोरै अनुदान हो त्यसमा वहाँहरुले दशौं गुणा बढी लगानीमा काम गरिरहनु भएको छ ’ उनले भने ।

पछिल्लो समय नेपालबाट युवा विदेशीरहेको परिप्रेक्ष्यमा उनीहरुलाई रोक्न यस्ता परियोजना फलदायी हुने बताउँदै प्रमुख थापाले विदेश जान लागेका र विदेशबाट फर्किएका युवाहरु माझ यस्तो अनुदान आवश्यक रहेको बताए ।

त्यस्तै कृषि विकास कार्यालय ललितपुरका कृषि अर्थविज्ञ क्रान्ति राईले अनुदान दिएपछि अनुगमन एकदमै आवश्यक रहेको र परियोजना एकाइ भक्तपुरले गरेको अनुगमन एकदमै उपयोगी रहेको बताइन् । साथै परियोजनाबाट कृषकहरु पनि एकदमै लाभान्वित रहेको उनको भनाई छ ।

सरकारी अनुदान पाएका उपत्यका कृषकमा देखियो उत्साह

पशुपन्छी विकास शाखा चाँगुनारायण नगरपालिकामा कार्यरत रिदयराम आचार्यले अनुदानको कृषकहरुले सही सदुपयोग गरेको र यस्ता कार्यक्रमहरु धेरैभन्दा धेरै कृषकहरुसम्म पुग्न आवश्यक रहेको बताए ।

नागार्जुन ८ का पाण्डव श्रेष्ठ विगत २० वर्षदेखि गुलाब फुलको खेती गर्दै आइरहेका छन् । नेपाल एग्रो सोलुसन प्रा.लि मार्फत व्यवसाय गर्र्दै आएका उनले यस परियोजनाबाट धेरै लाभ लिएको बताउँछन् । अनुदान स्वरुप साढे ३ लाख रुपैया र कृषि सामग्री, मेसिन औजारहरु परियोजनाले दिएको उनको भनाई छ ।

सरकारी अनुदान पाएका उपत्यका कृषकमा देखियो उत्साह

वार्षिक २ देखि ३ करोडको फुल बिक्री हुने गरेको बताउँदै नेपालका अधिकांश शहरहरुमा आफूले उत्पादन गरेको फुल जाने गरेको उनको भनाई छ । सरकारले आर्थिक रुपमा सहयोग गरेतापनि प्राविधिक रुपमा सहयोग नरहेको उनको दुखेसो छ । ठूलो लगानीमा कृषि गरेका कृषकहरुलाई आगामी दिनमा सरकारले अनुदानका साथसाथै सहुलियत कर्जामा ऋण प्रवाह गरिनुपर्ने समेत उनले माग राखेका छन् ।

अनुदानबाट ३ लाख ५० हजार पाएकी सोही ठाउँकी अन्जना आचार्यले जिप्सी फुल उत्पादन गर्दै आइरहेकी छिन् । पछिल्लो समय बजारमा यो फुलको माग एकदमै बढेको बताउँदै उनी आफू एकदमै सन्तुष्ट रहेको बताउँछिन् ।

विगत ८ वर्षदेखि तरकारी र गाई पालन गर्दै आएकी चन्द्रागिरी नगरपालिकाकी शोभा गिरीले ३२ रोपनी क्षेत्रफलमा टमाटर लगाउँदै आएकी छिन् । परियोजनाबाट आफूले २ पटक अनुदान पाएको बताउँदै उनले यसबाट आफूलाई निकै फाईदा पुगेको बताईन् । साथै यस्ता कार्यक्रमहरु निरन्तर भएमा धेरै कृषकहरुले लाभ लिने उनको भनाई थियो ।

सरकारी अनुदान पाएका उपत्यका कृषकमा देखियो उत्साह

त्यस्तै चन्द्रागिरी नगरापालिकाकै अर्का कृषक रत्नलाल श्रेष्ठले संजिवनी च्याउ फर्म संचालन गर्दै आइरहेका छन् । स्थायी पक्की टहरो निर्माणका लागि अनुदानस्वरुप ३ लाख ९२ हजार रुपैया प्राप्त हुँदा उनी मख्ख छन्. । विगत ९ वर्षदेखि च्याउ खेती गर्दै आएका उनले विशेष गरि कन्ये च्याउ उत्पादन गर्दै आइरहेका छन् । यस्ता कार्यक्रम कृषकहरुका लाागि एकदमै फलदायी रहेको बताउँदै उनले आगामी दिनहरुमा पनि अनुदान मिलेमा थप उत्पादन बढाउँदै लैजाने लक्ष्य रहेको बताए ।

चन्द्रागिरी नगरपालिकामा गिरी नर्सरी एण्ड एग्रिकल्चर संचालन गर्दै आएका जयराम गिरी वैदेशिक रोजगारका क्रममा दुवईमा ८ वर्ष र कतारमा ३ वर्ष बसेर फर्किएर कृषि पेशामा लागेका एक उदाहरणीय कृषक हुन् । विदेशमा राम्रो कमाई हुँदाहुदै नेपालमै केही गर्नुपर्छ भनेर आधुनिक तरिकाले टमाटर खेती गर्दै आएका उनी आफै मालिक भएर अहिले काम गर्न पाउँदा खुशी महशुस भएको बताउँछन् ।

सरकारी अनुदान पाएका उपत्यका कृषकमा देखियो उत्साह

परियोजनाबाट आफूलाई केही भएपनि अनुदान प्राप्त हुँदा ठूलो सहयोग मिलेको उनी बताउँछन् । जंगली भेन्टाको जरामा ग्राफ्टेड गरेर टमाटर खेती गरिरहेका उनले ग्राफ्टेड गरेर टमाटर खेती गर्न सके लामो समयसम्म धेरै उत्पादन लिन सकिने र विरुवामा कुनै किसिमको रोग नलाग्ने बताउँछन् । सरकारले सहयोग गरे नेपालमा कृषिबाट पनि मनग्य आम्दानी गर्न सकिने उनी बताउँछन् । साथै यस्ता अनुदानका कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तर हुनुपर्ने उनले बताए ।

त्यस्तै सोही स्थानका कृषक राजु गिरीले गिरी कृषि फार्म मार्फत टमाटर खेती गरिरहेका छन् । ५० प्रतिशत अनुदान प्राप्त गरेका उनले ग्राफ्टेड गरेका टमाटरका विरुवा र टमाटर उत्पादन गर्दै आइरहेका छन् । सरकारले दिएको अनुदान अलि कम भएको बताउँदै आगमी दिनमा अलि ठूला अनुदानका कार्यक्रमहरु ल्याउन समेत आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकाको अनुगमन पश्चात् जिल्ला समन्वय समिति काठमाडौंका समन्वय अधिकारी शिव रिजालले राज्यले पनि थोरै सहयोग गरेमा किसानहरु उत्साहित हुने अनुगमनबाट थाहा भएको बताए ।

कृषकहरुले स्थानीय स्तरमा थुप्रै मानिसहरुलाई रोजगारी दिएको समेत अनुगमनबाट जानकारी भएको उनले बताए । सही कृषकले सही अनुदान पाएको बताउँदै सरकारले यस्ता कार्यक्रमहरु निरन्तर गर्दै जानुपर्ने उनको तर्क छ ।

वरिष्ठ कृषि अधिकृत आशा शर्माले अनुगमन अत्यन्तै महत्वपुर्ण र प्रभावकारी भएको बताईन् ।

सरकारी अनुदान पाएका उपत्यका कृषकमा देखियो उत्साह
 वैदेशिक रोजगारबाट फर्किएर कृषि पेशामा धेरै कृषकहहरु लागेको देख्न पाउँदा खुशी लागेको उनको भनाई छ । साथै अनुदान प्रदान गरिसकेपछि परियोजना इकाइ भक्तपुरले गरेको अनुगमन कार्यक्रम निकै फलदायी रहेको समेत उनको भनाई थियो ।

उपत्यकाका ३ वटा जिल्लामा कृषि पेशामा लाग्नेहरुमा स्थानीय नभई बाहिरबाट आएर जग्गा भाडामा लिएर कृषि गर्ने कृषकहरु ८० प्रतिशतभन्दा माथि रहेका छन् । त्यसमा अधिकांश विदेश गएर अनुभव लिएर नेपालमै कृषि उत्पादन गर्न सकिन्छ भन्नेहरु पाइयो ।

काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न स्थानमा कृषि तथा पशुपालन गर्ने कृषकहरुका लागि परियोजनाबाट ५० प्रतिशत अनुदान प्रदान गरिएको परियोजना कार्यन्वयन इकाइ भक्तपुरका प्रमुख चुडामणी भट्टराईले जानकारी दिए । अनुगमनका क्रममा कृषकहरुबाट राम्रो प्रतिक्रिया, सल्लाह, सुझाव पाएको र उनीहरुले पनि अनुदानको सही सदुपयोग गरेको हुनाले अनुगमन सफल भएको भट्टराईको दावी छ ।

सरकारी अनुदान पाएका उपत्यका कृषकमा देखियो उत्साह

चालु आर्थिक वर्षमा काठमाडौं÷भक्तपुरमा ४ वटा जोन र ललितपुरमा तरकारी र पशुपालनका ६ वटा जोनमा कार्यक्रम संचालन गरेको बताउँदै परियोजना प्रमुख भट्टराईले करिब ५ सय फर्म, सुमह र सहकारीलाई गत आर्थिक वर्षमा परियोजनाबाट सहयोग गर्न सफल भएको जानकारी दिए । त्यस्तै उद्यमशिलता कार्यक्रममा ९४ जनालाई छनौट गरेको जसमध्ये ८३ जनाले कार्यसम्पन्न गरेको उनले बताए ।

यो आयोजना नेपाल सरकारबाट संचालन गरेको दश वर्षे आयोजना हो । करिब ८ वर्ष पुरा भइसकेको छ भने अब बाँकी २ बर्ष छ । अहिलेसम्म यो परियोजना ४८ वटा जिल्लामा संचालन भईरहका छन् भने ७७ वटै जिल्लाका कृषकहरुले लाभ उठाइरहेका छन् ।

आयोजनाबाट संचालन गरेका कार्यक्रमहरु सजिलोसँग किसानको मागमा आधारित भएको र धेरैभन्दाधेरै किसानहरुलाई सहज ढंगले अनुदान प्रदान गरिरहेको कारणले यो आयोजनाप्रति किसानहरु सकारात्मक भएको र यसलाई निरन्तरता दिनुपर्ने माग समेत राख्ने गरेको परियोजना प्रमुख भट्टराईले जानकारी दिए ।

सरकारी अनुदान पाएका उपत्यका कृषकमा देखियो उत्साह

अबको बाँकी २ वर्षमा जोन विकासमा सम्बन्धित कार्यक्रमहरु, क्षेत्र विस्तार गर्ने, उत्पादन र उत्पादकत्व बढाउने यान्त्रिकीकरण प्रवद्र्धन गर्ने, टनेल निर्माणमा सहयोग गर्ने, सिँचाईमा सहयोग गर्ने, क्षमता अभिवृद्धि गर्ने लगायतका कार्यक्रहरुमा सहयोग रहेने भट्टराई बताउँछन् ।

त्यस्तै केही उद्यमशिलताका कार्यक्रमहरु रहेको र आयोजना क्षेत्रहरु बढाएर अनुदानमा सबैलाई समेट्ने किसिमले क्षेत्र विस्तार गर्दै कार्यक्रमहरु अगाडि बढाउँने लक्ष्य रहेको उनी बताउँछन् ।