नेपाल बैदेशिक रोजगार व्यवसायी संघले नवनियुक्त श्रमसचिव केवलप्रसाद भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच सचिव भण्डारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गर्दै वैदेशिक रोजगार व्यवसाय क्षेत्रको समस्या समाधान र सुधारको आग्रहसहित ज्ञापनपत्र बुझाएको हो ।

कार्यक्रममा व्यवसायीहरुले सचिव भण्डारीको ध्यानाकर्षण गराउँदै वैदेशिक रोजगार व्यवसायको क्षेत्रभित्र रहेका विकृति तथा विसंगतिको अन्त्य गर्दै समस्या समाधानका लागि ठोस पहल गरिदिन आग्रह गरेका थिए ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले व्यवसायभित्र अझै पनि थुप्रै समस्याहरु यथावत् नै रहेको नवनियुक्त सचिव भण्डारीलाई जानकारी दिए । उनले मागपत्रको अनलाईन प्रमाणिकरण, सेवाशुल्क परिमार्जन, सय संख्यामा कामदार पठाउनै पर्ने लगायतका समस्या समाधानका लागि पहल गरिदिन सचिव समक्ष आग्रह गरेका थिए ।

नव नियुक्त श्रम सचिव भण्डारीलाई ब्यवसायी संघको ज्ञापनपत्र

त्यस्तै संघका पूर्वअध्यक्ष प्रेमबहादुर कटुवालले व्यवसायीहरुले पाउने सेवाशुल्क कम्तीमा पनि एक महिनाको तलब बराबर हुनुपर्ने माग राख्दै यस व्यवसायभित्र थुप्रै विकृतिहरु भएकाले व्यवसायीहरुले पनि अनुशासित भएर व्यवसाय गर्नुपर्ने बताए । कन्सलट्यान्सी लगायत व्यक्तिगत तवरले हजारौंको संख्यामा श्रमिकहरु विदेश पठाएर अलपत्र पार्ने तर त्यसको दोष भने व्यवसायीले नै व्योहोर्नुुपरेको उनले बताए ।

कार्यक्रममा श्रमसचिव भण्डारीले संघले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै वैदेशिक रोजगार व्यवसायभित्र देखिएका समस्या समाधानका लागि मन्त्रालय कटिबद्ध भएर लाग्ने जानकारी दिए ।

उनले बैदेशिक रोजगारमा कामदार पठाउँदा केही सीप सिकाएर दक्ष कामदार मात्र पठाउन आग्रह गर्दै श्रम मन्त्रालयले बैदेशिक रोजगार मात्र नभई आन्तरिक रोजगारीलाई बढवा दिनका लागि काम गर्ने जानकारी दिए । सम्पुर्ण व्यवसायीहरुको सहयोगको अपेक्षा गर्दै सचिव भण्डारीले आफू श्रम मन्त्रालयमा रहेर आन्तरिक रोजगार र बैदेशिक रोजगारको क्षेत्रमा यादगार काम गरेर जाने प्रतिबद्धता व्यक्त गरे ।