रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्ने व्यवसायीहरुको छाता संस्था रञ्जना व्यापार संघले दशैंको शुभकामना आदान प्रदान तथा व्यापारिहरुका विविध समस्याका विषयमा छलफल गरेको छ ।

संघका अध्यक्ष हरिप्रसाद पाण्डेको अध्यक्षतामा संघका पदाधिकारीहरुको विशेष उपस्थितिमा संघले शुभकामना आदान प्रदान तथा ट्रेड सेन्टरमा तत्काल देखिएका समस्याहरुका विषयमा छलफल गरेको हो ।
बैठकमा ट्रेड सेन्टरमा अहिले बढाउन लागिएको पार्किङ शुल्कलाई यथावत् नै राखेर दशैंपछि ट्रेड सेन्टर र संघबीच समन्वय गरि सम्भवतः पार्किङ शुल्क नबढाउनका लागि पहल गर्ने निर्णय गरेको संघका अध्यक्ष पाण्डेले जानकारी दिए ।

अहिले दशैंको मौका छोपेर ट्रेड सेन्टर भित्रबाहिर सेल लागिरहेको हुनाले त्यसले क्षणिक फाईदा देखिएतापनि दीर्घकालीन रुपमा ट्रेडका अन्य व्यवसायीहरुलाई असर पर्ने हुदाँ ट्रेड परिसरमा सेल लगाउँन नदिने संघका महासचिव महेश पौडेलले जानकारी दिए ।

त्यस्तै ट्रेड सेन्टर असोज २५ गतेबाट ३० गतेसम्म बन्द गर्ने र कार्तिक १ गतेबाट पुनः संचालन हुने बैठकले निर्णय गरेको छ । साथै बैठकको अन्त्यमा दशैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको थियो ।








