नेपाल हिमालय सिमापार वाणिज्य संघको अध्यक्ष पदमा रामहरी कार्की निर्वाचित भएका छन् ।
गत आइबार सम्पन्न संघको निर्वाचनको मतपरिणाम अनुसार उनका प्रतिस्पर्धी लोपसाङ शेर्पालाई १३ मतको अन्तरले हराउँदै ४३४ मत ल्याएर उनी निर्वाचित भएका हुन् उनका प्रतिस्पर्धी शेर्पाले भने ४२१ मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिव पदका लागि रामचन्द्र पराजुलीले ४४३ मतसहित निर्वाचित भएका छन् । उनका प्रत्याशी भक्तबहादुर पराजुलीले भने ३९१ मत प्राप्त गरेका छन् । त्यस्तै सचिव पदका लागि ४ जना निर्वाचित भएका छन् । मतपरिणाम अनुसार विकास प्रसाद रिसाल, आङदोर्जे शेर्पा, तुलसी राउत र सुब्बा श्रेष्ठ निर्वाचित भएका हुन् ।

संघको प्रथम उपाध्यक्षमा सुरेश श्रेष्ठ, उपाध्यक्षहरुमा सुजित बस्नेत, निराजन श्रेष्ठ, भरतबहादुर कार्की र ओमनाथ घिमिरे, कोषाध्यक्षमा लालबहादुर बस्नेत र सह-कोषाध्यक्षमा सुमनकाजी श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

स्थापनाकालदेखि नै संस्थामा आवद्ध रहेर काम गरेका कार्कीले व्यवसायीहरुको मर्म, भावना बुझेका छन् । संस्था स्थापना गर्नमा महत्पुर्ण भुमिका उनको पनि रहेको छ । उनी विगतका दिनहरुदेखि नै व्यापारीका समस्या सम्बोधन गर्न लागिपरिरहेका छन् । संघको निवर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा रहेर सफल कार्यकाल पुरा गरिसकेका उनी संघको १२ औं महाधिवेशनबाट अध्यक्ष पदमा विजयी भएका छन् ।








