साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाइरोमेन्ट (साउटी)ले नेपाल र चिनबीचको व्यापारमा देखिएका सम्भावना र चुनौती विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकारका पूर्वसचिव तथा लोकसेवा आयोगका पूर्वसदस्य बृन्दा हाडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीको विशेष आतिथ्यता रहेको थियो ।
पछिल्लो समय उत्तरी राष्ट्र चिनसँगको व्यापारमा देखिएका सम्भावना र चुनौतीका बिषयमा आयोजना गरिएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाहरु, सिएनआई, नेपाल हस्तकला उद्योग, नेपाल फ्रेड फवार्डर एशोसियसन, केन्द्रिय गलैचा उद्योग संघ, नेपाल हिमालय सिमापार वाणिज्य संघ तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिहरुले भाग लिएका थिए ।

अध्ययन प्रतिवेदनको चेयर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए भने प्रतिवेदनका बारेमा नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ र उद्योग वाणिज्य मन्त्रालयका उपसचिव अच्युत ढुङ्गानाले टिप्पणी गरेका थिए । त्यस्तै कार्यक्रमको मोडिएटर नेपाल सरकारका पूर्वसहसचिव रविशंकर सैजुले गरेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले आगामी दिनमा नेपालले आयातलाई मात्र नभएर निर्यातलाई पनि बढुवा दिनका लागि कटिबद्द भएर लाग्न सरकारको ध्यानाकार्षण गराए ।
नेपालबाट चिनमा निर्यात बढाउन सकेमा देशले व्यापार घाटा कम बेहोर्नुपर्ने, विदेशी मुद्राको सञ्चिती हुने भएकाले नेपाली युवाहरु विदेश पलयान हुनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य समेत हुने उनले बताए । साथै चिनले नेपाललाई दिएको ८ हजारभन्दा बढीको शुन्य भन्सारको फाईदा नेपालले लिन नसकेको उनले बताए ।
अहिले उत्तरी नाका खुलेतापनि बाटोको समस्याले गर्दा महिनौसम्म आयातित सामान बाटोमै अलपत्र पर्ने समस्या रहेको बताउँदै अध्यक्ष श्रेष्ठले सरकारले चाँडोभन्दा चाँडो उत्तरी नाकामा जोड्ने सडक पूर्वाधारको सुधार गर्नुपर्ने बताए । रसुवाको मितेरी पुलबाट धुन्चेसम्मको बाटो र बाह्रबिसेदेखि तातोपानी सम्मको बाटोको अवस्था एकदमै अस्तव्यस्त भएको बताउँदै उनले चाँडोभन्दा चाँडो यसको समाधानका लागि सरकार लाग्नुपर्ने उनको भनाई थियो ।
उनले भने -‘अहिले बाटोकै कारण पर्यटकको संख्या घटिरहेको छ । यदि पूर्वाधारमा विकास भएको भए पर्यटन प्रवद्र्धन गर्दै पर्यटकको संख्या बढाउन सकिने छ । जसले देशको आयश्रोतमा समेत टेवा पुग्ने छ ।’
कोभिडको कारणले नाका बन्द हुँदा स्थानीय बासिन्दाले आफ्ना स्थानीय उत्पादनहरु निर्यात गर्न नपाउँदा धेरै दुःख झेल्नुपरेको र कतिपय युवाहरु विदेशीन बाध्य भएकोले अब जस्तोसुकै महामारीमा पनि उत्तरी नाका सधैं खुल्नुपर्ने उनको भनाई थियो । त्यस्तै विभिन्न प्रकृयागत कुराले गर्दा पनि व्यापार असहज भएको भन्दै उनले यसलाई सहजिकरण गरिदिन समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।








