काठमाडौं –  काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा व्यवसाय गर्ने होटल व्यवसायीहरुको साझा संस्था नेपाली होटल व्यवसायी संघको २० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन आगामी भदौ ४ गते हुने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा काठमाडौंको बसुन्धरास्थित दियालो फुटल्यान्डमा हुने साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने संघले जनाएको छ ।

नेपाली होटल व्यवसायी संघको साधारणसभा तथा महाधिवेशन आगामी भदौ ४ मा हुँदै

सातौं साधारणसभादेखि आफु निरन्तर कार्यसमितिमा रहेको र अहिले अध्यक्ष पदको जिम्मेवारीमा रहेको बताउँदै संघका अध्यक्ष उमेश सुवेदीले यही अधिवेशनबाट चुस्त, दुरुस्त र नयाँ उर्जाशिल टिमलाई कार्यभार सुम्पिन आफू आतुर रहेको बताए । आफ्नो कार्यकालमा होटल व्यवसायीहरुको क्षेत्रमा एकदमै महत्वपुर्ण कार्यहरु गर्न सफल भएको बताउँदै अध्यक्ष सुवेदीले चेतनामूलक प्रशिक्षक कार्यक्रम, कोभिडले व्यवसाय ठप्प हुदा गोङ्गबु क्षेत्रमा रहेका व्यवसायीहरु विस्थापित हुन नपरोस भन्ने उद्देश्यले घरधनी, टोलसुधार समितिहरुसँग समन्वय गरेर कोभिडको समयको घरभाडामा ५० प्रतिशत भाडा छुट लगायतका काम गर्न सफल भएको बताउँदै आगामी दिनहरुमा पनि नयाँ कार्यसमितिलाई सहयोग गर्दै जाने बताए ।

नेपाली होटल व्यवसायी संघको साधारणसभा तथा महाधिवेशन आगामी भदौ ४ मा हुँदै

त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष जितबहादुर गिरीले २० औं वार्षिक साधारण सभाका लागि सबैजना जोडबलले लागिरहेको बताउँदै अहिले सदस्यता नविकरणको काम भईरहेको र कोही बाकी भए नबिकरण गर्न आउन अनुरोध गरे । व्यवसायीहरुका धेरै चुनौतिहरु र विविध समस्याहरु रहेकोमा त्यस्ता विकृति विसंगतिसँग लड्न सक्ने खालकोे कार्यसमितिको खाँचो रहेको बताउँदै वरिष्ठ उपाध्यक्ष गिरीले व्यवसायीहरुको हकहितका लागि काम गर्न सक्ने सबल नेतृत्वको चयन गर्नुपर्ने बताए ।

संघका महासचिव गणेश ढकालले साधारणसभाको भव्य तयारी भईरहेको बताएका छन । उनले अहिलेसम्म २५० जनाभन्दा बढी व्यवसायीहरुले नविकरण गरिसकेकोमा यो संख्या ३५० भन्दा बढी हुने अपेक्षा गरेको जानकारी दिए । १० औं र ११ औं अधिवेशनमा चुनावी प्रकृयाद्धारा नै नयाँ नेतृत्व चयन गरिएको भएपनि अहिलेको अवस्था सामना गर्न पनि आगामी नेतृत्व सर्वसम्मत चयन गर्नुपर्ने महासचिव ढकालको भनाई छ । उनले सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको जानकारी दिदै त्यसो हुन नसके अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने बताए । दुई कार्यकाल सफलतापूर्वक महासचिवको जिम्मेवारी निभाएका ढकाललाई यसपटक सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिनुपर्ने अधिकांश होटल व्यवसायीहरुको भनाई छ ।

नेपाली होटल व्यवसायी संघको साधारणसभा तथा महाधिवेशन आगामी भदौ ४ मा हुँदै

त्यस्तै संघका कोषाध्यक्ष काजी बहादुर कटुवालले फेरि पनि जिम्मेवारी दिएमा आफू कार्यसमितिमा बसेर काम गर्न तयार भएको बताउँदै आफू पदमा नरहे पनि संस्थालाई निरन्तर साथ र सहयोग गर्ने जानकारी दिए ।

संघका पूर्वअध्यक्ष तथा होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय उपमहासचिव शेरबहादुर थापाले १२ औं साधारणसभा भव्य रुपमा सम्पन्न हुने र सबल कार्यसमिति संघले पाउनेमा आफू आशावादी भएको बताए । पुरानो कार्यसमितिले गरेको कामहरु एकदमै उत्कृष्ट भएको बताउँदै पूर्वअध्यक्ष थापाले नयाँ कार्यसमितिले पनि व्यवसायीहरुका समस्याहरुलाई बुझेर व्यवसायीहरुका हकहितमा काम गर्नुपर्ने जानकारी दिए ।

नेपाली होटल व्यवसायी संघको साधारणसभा तथा महाधिवेशन आगामी भदौ ४ मा हुँदै

त्यस्तै संघका निवर्तमान अध्यक्ष अमर बहादुर दाहालले होटल व्यवसायीहरुलाई राज्यले हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताउँदै पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मान्छेहरु आएर बस्ने ठाउँ भएकोले यो व्यवसाय होटल व्यवसाय मात्र नभएर पर्यटन व्यवसायसमेत रहेको जानकारी दिए । नेपाली होटल व्यवसायी संघ सेवा गर्नको लागि जन्मेको संस्था भएकोले इलेक्सन भन्दा पनि सेलेक्सन प्रक्रियाबाट जानुपर्नेमा जोड दिदै निवर्तमान अध्यक्ष दाहालले अघिल्लो कार्यसमितिले गरेका कामप्रति आफू सन्तुष्ट भएको बताए ।

२०५७ साल स्थापना भएको यस संस्थाले स्थापनाकालदेखि नै होटल व्यवसायीहरुको हकहितको रक्षा तथा व्यवसायलाई मर्यादित बनाउदै यस क्षेत्रमा रहेका समस्या समाधानका लागि आफूलाई प्रतिवद्ध बनाउदै आइरहेको छ । १२ औं अधिवेशनले सक्षम अनि सबल कार्यसमितिको चयन गर्नेमा सबै व्यवसायीहरु आशावादी रहेका छन ।