नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच आज महासंघ सचिवालयमा भेटवार्ता भएको छ । सो भेटवार्तामा नेपाल र फ्रान्स बीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको महासंघ सचिवालयले जानकारी दिएको छ ।

उक्त भेटवार्तामा आगामी जुन महिनाअघि नेपाल–फ्रान्स विजनेश फोरम बैठक आयोजना गर्ने र उक्त फोरम बैठकमा महासंघकातर्फबाट कोभिड पश्चात नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुती गर्ने सहमती भएको महासंघ सचिवालयले जनाएको छ ।

महासंघका अध्यक्ष गोल्छा र फ्रान्सेली राजदूतबीच व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफल

भेटवार्तामा राजदूत लेजेको महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै अध्यक्ष गोल्छाले नेपाल फ्रान्स बीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गरेका थिए । अध्यक्ष गोल्छाले कोभिड पछि नेपालको अर्थतन्त्रले छिट्टै लय समाउन थालेको जानकारी गराउँदै दुवै देशका निजी क्षेत्रबीच सम्पर्क विस्तारमार्फत नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि तथा व्यापार विस्तार लगायतमा जोड दिएका थिए ।

राजदूत लेजेले फ्रान्स र नेपालबीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजवुत बनाउन आफूले निरन्तर पहल गरिरहेको बताए । गएको वर्ष नेपालबाट भएको फ्रान्सको उच्चस्तरीय भ्रमणमा महासंघको पनि सहभागिता रहेको र सो क्रममा महासंघ र मेडेफ इन्टरनेशनलबीच सहमतीपत्रमा हस्ताक्षर भएको स्मरण गर्दै राजदूत लेजेले नेपालको आर्थिक विकासमा फ्रान्सको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाएका थिए । उनले सो अवसरमा नेपाल फ्रान्स विजनेश फोरम बैठकलाई परिणाममुखी बनाउने दृढता समेत व्यक्त गरे ।