तस्वीर साभार : चन्द्रबहादुर आले/अनलाइनखबर

बिहीबार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पुन : पक्राउ परेका छन् । अग्रवाल विरुद्ध परेको कालोबजारी सम्वन्धी मुद्धामा फैसला सुनाउदै जिल्ला अदालत काठमाडौका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश दिएपछि रिहा भएका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अदालत परिसरबाटै पक्राउ गरेको हो ।

उनी विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले पनि छानबिन गर्ने भनेकाले पक्राउ गरिएको परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन ।

जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

सरकारी वकिल कार्यालयले गत मंगलबार १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिवानाको माग गर्दै अग्रवाल विरुद्ध मुद्दा दर्ता गरेको थियो ।

अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन् । उनले निलो नम्मर प्लेटको गाडी कालोबजारीमा प्रयोग गरेपछि सरकारले अवैतनिक वाणिज्यदूतलाई दिदै आएको उत्त सुविधा समेत खारेज गरेको छ ।