नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

राजधानीमा आयोजित एक कार्यक्रममा ढकालले नीजि क्षेत्रलाई राज्यको महत्वपूर्ण हिस्सा बनाउने प्रतिवद्धतासहित महासंघको बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन ।

‘समृद्धिको आधार राज्य निजी क्षेत्र साझेदार’ भन्ने मूल नारासहित बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका ढकालले नीजि क्षेत्रलाई बलियो तथा सशक्त बनाउन र राज्यले हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउदै नीजि क्षेत्रलाई देशको अर्थतन्त्रकै महत्वपूर्ण हिस्साकारुपमा विकास गर्न आफु प्रतिवद्ध भएर लाग्ने बताए ।

साना, मझौलादेखि ठुला सबै उद्योगी व्यवसायीका हर समस्याबारे आफु परिचित रहेको भन्दै ढकालले उनीहरुका हकहितको सुरक्षादेखि लिएर समस्या समाधान तथा आवश्यक नीति नियम परिमार्जनमा सरकारसँग आफुले पहलकदमी गर्ने अठोटसहित नेतृत्वका लागि अघि बढेको बताए ।

‘नीजि क्षेत्रसँगको सहकार्य विना समृद्ध मुलुकको परिकल्पना सम्भव छैन, सरकारलाई यो कुरा बुझाएर सरकार र उद्योगी–व्यवसायी सहकार्य गरेर सँगसँगै हिडने वातावरण बनाउन मेरो पहल रहनेछ’ ढकालले भने ।

महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी, निजी क्षेत्रलाई बलियो र सशक्त बनाउने अठोट

यस्तै ढकालले महासंघलाई थप ससक्त बनाउदै लैजान तथा देशमा औधोगिक वातावरण निर्माण गर्न, विदेशी लगानी भित्र्याउन, उद्योगी व्यवसायीहरुका हकहित सुरक्षा गर्दै उनीहरुले भोग्दै आएका समस्या समाधानमा सरकारसँग सहकार्य गरेर अघि बढने वातावरण निर्माणका लागिसमेत आफ्नो उम्मेदवारी रहेको बताए ।

कार्यक्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छाको प्रंशसा गर्दै ढकालले अब उहाँको नेतृत्वमा आगामी कार्यसमिति व्यवसायीक, उर्जाशिल तथा गतिशिल बन्ने र एक एक जोडदा दुई नभएर एघार बनाउने गरी आफु उक्त टिममा रहेर काम गर्ने प्रतिवद्धतासहित बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको ढकालले बताए । यसअघि गोल्छाको समर्थनमा बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन ।

अघिल्लो निर्वाचनमा महासंघको एशोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका ढकालले देशभरका व्यवसायीहरुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन गरेको आग्रहलाई कदर गर्दै आफु अघि बढेको ढकालले बताए । ‘देशभरका अधिकांश उद्योगी व्यवसायीहरुको भावनाको कदर गर्दै बरिष्ठ उपाध्यक्ष पदका लागि अघि बढेको छु, जिम्मेवारी पाए पनि नपाए पनि उहाँहरुको पक्षमा अग्रपंक्तिमा रहेर जिम्मेवारीवोध गर्ने अठोट गर्दछु’ ढकालले भने । ढकालले अहिलेको निर्णयले महासंघको आगामी भविश्य तय गर्ने हुदा समग्र उद्योगी व्यवसायीहरुलाई यसतर्फ गहिरिएर सोच्नसमेत आग्रह गरेका छन ।

महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी, निजी क्षेत्रलाई बलियो र सशक्त बनाउने अठोट

नेपाली उद्योगी व्यवसायीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष स्वत : अध्यक्ष हुने व्यवस्था छ । यो व्यवस्था अनुसार आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने साधारणसभा पश्चात गोल्छा अध्यक्ष हुनेछन भने त्यसपछि रिक्त हुने वरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिष्पर्धा हुनेछ ।

बागलुङको अमलाचौरमा विं सं २०२२ मा जन्मिएका ढकालले कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका थिए । ढकाल हाल वित्तीय क्षेत्रमा मात्र होइन जलविद्युत उत्पादन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, सवारीसाधन विक्री, केबुलकार लगायत क्षेत्रमा छाएका छन् ।

ढकाल आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवर्द्धक हुन् ।