राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।

यस सम्बन्धमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाले एक कार्यक्रमकाबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन । हस्ताक्षर समारोहमै बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रुपैंयाको चेक किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालालाई हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाले हाल मुलुकभर करिब १ करोड २० लाख बालबालिका भएको र स्वास्थ्य उपचारको अवस्था कमजोर रहेकोमा बैंकको सिएसआरको पैसा बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुनु पूण्य कार्य भएको र यस्ता सहयोगले अधुरा परियोजनाहरु संचालनमा ल्याउन सघाउ पुग्ने बताए ।

बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले राज्यको पंहुच नपुगेको ठाउंमा राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवा दिइरहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद लगायतको क्षेत्रमा बैंकले सिएसआर मार्फत सहयोग गरिरहेको बताए ।

बाल अस्पताल निर्माणमा राष्ट्रिय वाणिज्य बैंकद्धारा ५० लाख आर्थिक सहयोग

काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ(किओच) बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल संचालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर बृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्ने, नीति निर्धारण गर्ने लगायतका कार्य गर्ने गरी सवै प्रादेशिक बाल अस्पलातहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल संचालन गर्ने गरी स्थापना भएको बाल अस्पताल हो । काठमाडौंको बुढानिलकण्ठमा केन्द्रीय अस्पतालको रुपमा स्थापना हुने यो बाल अस्पताल मुनाफारहित कम्पनीको रुपमा रहेने र देशका सातै प्रदेशमा संचालन हुनेछ ।

बैंकले चालु आ.व. को दोश्रो त्रैयमासमा २ अर्ब २० करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९५ अर्ब रुपैंया, कर्जा १ खर्ब ४७ अर्ब रुपैंया र बेस रेट ६.६० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

कार्यक्रम ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गर्नुभएको थियो । कार्यकममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु किओचका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।