पूर्वाधार तथा विकास निमार्णका क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका साथ नेपाल इन्फ्रास्ट्रक्चर बैंक संचालनमा आएको छ।

अर्थमन्त्री डा। युवराज खतिवडाले बुधबार बैंकको उद्घाटन गरेसँगै सेवा शुभारम्भ भएको छ । राष्ट्र बैंकको नियमनमा रही पूर्वाधार विकास सम्वन्धी परियोजनामा कर्जा प्रवाह गर्ने मुख्य उद्देश्यका साथ यो बैंक संचालनमा आएको हो।

सो अवसरमा अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय बजारबाट पुँजी जुटाउन सरकारले सहयोग गर्ने बताए। ‘डिपोजिट सर्टिफिकेट’ जारी गरी गैरआवासीय नेपालीबाट लगानी जुटाउन उनले आग्रह गरे।

पूर्वाधार क्षेत्रमा लगानी गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक संचालनमा

वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्न नभई परिपूरक भूमिका निर्वाह गर्नेगरी इन्फ्रास्ट्रक्चर बैंक संचालनमा ल्याइएको खतिवडाले बताए। उनले बैंकहरुले जस्तो अल्पकालीन निक्षेप खोज्नतिर नलाग्न सुझाव दिए। ‘बैंकहरु अल्पकालीन स्रोत जुटाउनेतर्फ लाग्दा तातेको बजारलाई तपाईहरुले अरु नतताउनोस्’ खतिवडाले भने ‘परियोजनामा दीर्घकालीन लगानी गर्नेगरी नेतृत्व लिनुहोस्।’

बैंकहरुले दीर्घकालीन जोखिम लिन नचाहेकै कारण इन्फ्रास्ट्रक्चर बैंकको अवधारणा विकास भएको उनले बताए। ठूला आयोजना छनौट गरेर लगानी विविधिकरण गर्न उनले सुझाव दिए।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिवि नेपालले बाहिरबाट लगानी ल्याउन, परियोजना छनौट गर्न, स्रोतको चाहेअनुसार परिचालन गर्न बैंकलाई पूर्ण रुपमा जिम्मेवारी दिइएको बताउँदै पारदर्शी भई काम गर्न सुझाव दिए। अध्यक्ष अनुज अग्रवालले अन्तर्राष्ट्रिय सरकारी तथा निजी क्षेत्रसँग मिलेर लगानी जुटाउन सक्दो प्रयास गरिने बताए।

बैंकले लगानीको स्रोत जुटाउनका लागि स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने, दीर्घकालीन निक्षेप संकलन गर्ने, ऋणपत्र जारी गर्ने, विदेशबाट ऋण ल्याउने लगायतका कार्यहरु गर्नेछ।

सार्वजनिक तथा निजी साझेदारीमा स्थापना भएको बैंकले अन्तर्राष्ट्रिय सार्वजनिक तथा निजी क्षेत्रहरुसँग सहकार्य गरी लगानी भित्र्याउने छ।

हाल १२ अर्ब रहेको बैंकको चुक्ता पुँजी २० अर्ब पुर्याइने छ। बैंकमा सरकारको १०, बीमा कम्पनीहरुको १८। ९७, वाणिज्य बैंकहरुको २०। ८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५।१५, व्यक्तिगत ४। ९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहेको छ।

अनुज अग्रवाल अध्यक्ष रहेको बैंकका अन्य संचालकहरुमा मुकुन्दप्रसाद पौड्याल, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, नुमनाथ पौड्याल छन्। प्रमुख कार्यकारी अधिकृतको रुपमा अनिल ज्ञवालीले जिम्मेवारी सम्हालेका छन्।