एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसद्धारा हरेक बर्ष आयोजना हुने अस्कर अवार्डको ९१ औ श्रृङ्खलाका लागि नेपालबाट चलचित्र ‘पञ्चायत’लाई छनोट गरिएको छ ।

विदेशी भाषी सर्वोत्कृष्ट चलचित्रको विधामा प्रतिस्पर्धाका लागि चलचित्र ‘पञ्चायत’ छनोटमा परेको हो । अवार्डमा सहभागी हुनका लागि ‘तान्द्रो, पञ्चायत र माइ लभ’ दर्ता भएका थिए ।

विमल पौडेलको अध्यक्षतामा लक्ष्मीनाथ शर्मा, प्रदीप कुमार उपाध्याय, राजेन्द्र शलभ, राजुबिक्रम थापा, लोकेन्द्र पराजुली, सामीप्यराज तिमल्सीना सदस्य रहेको नेपालको अस्कर छनोट समितिले उक्त तिन चदचित्रबाट ‘पञ्चायत’ छनोट गरेको हो ।

शिवम अधिकारीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल, नीता ढुङगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ।

गणेश गिरी, सुशान्त श्रेष्ठ, रवि अधिकारी र शंकरप्रसाद सुवेदीले कलावती फिल्मस र हेटौंडा मुभिमेकर्ज टीमको ब्यानरमा निर्माण गरेका हुन् ।

जनवरी २२ मा एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले अस्कर मनोनयन सार्वजनिक गर्दैछ भने २४ फेव्रुअरीमा अवार्ड वितरण हुनेछ ।