कतारमा व्यवसायमा सक्रिय रहेका आफ्ना सदस्य तथा युवा व्यवसायी झविन्द्र आचार्यलाई अकालमै गुमाउनु पर्दा कतारमा रहेका नेपाली व्यवसायीहरु स्तब्ध बनेका छन् । उनीहरुले आफ्नो सहकर्मी गुमाउनु पर्दा दुःख व्यक्त गर्दै आचार्यको योगदान र सामाजिक सक्रियतालाई सम्झिएका छन् ।

नेपाल व्यवसायी संघ कतारका सदस्य तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सहकोषाध्यक्ष झविन्द्र आचार्यको सडक दुर्घटनामा परी गत बुधवार १९ फेब्रुअरीमा निधन भएको थियो ।

नेपाल व्यवसायी संघले शनिवार दोहाको गोर्खाली रेष्टुरेन्टमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेर आफ्ना सदस्य आचार्यलाई सम्झिएको हो ।

स्वर्गिय झविन्द्रको सम्झनामा स्तब्ध बने कतारका नेपाली व्यवसायी

सन् २०१२ मा कामदार भिसामा कतार आएका आचार्य कतारको नेपाली समाजमा भिजेका र कसैलाई नविझाउने व्यक्तिका रुपमा चिनिन्थे । गुल्मीको मालिका गाउँपालिका घर भएका ३९ वर्षीय आचार्य स्थानीयस्तरमा पनि लोकप्रिय थिए । उनी गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष समेत रहेका थिए ।

आचार्यको निधनबाट नेपाल व्यवसायी संघ कतारले ठूलो क्षती व्यहोर्नु परेको बताउँदै संघका अध्यक्ष महेन्द्र चम्लागाईले संघले पहिलो पटक सदस्य गुमाउनुपर्दा दुःख व्यक्त गरे । उनले स्व. आचार्यको परिवारमा कुनै सहायताको आवश्यकता रहे बुझेर सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

स्वर्गिय झविन्द्रको सम्झनामा स्तब्ध बने कतारका नेपाली व्यवसायी

एनआरएनए अभियन्ता, संघका उपाध्यक्ष तथा कतारका लागि नेपाली पर्यटनदूत आरके शर्माले सडक दुर्घटनामा धेरै नेपालीको ज्यान गइरहेको अवस्थामा आफ्नै सहकर्मी गुमाउनु पर्दा दुःख लागेको बताउँदै संघले भोलिका दिनमा कसैलाई समस्या पर्दा सहयोग गर्नका लागि छुट्टै फण्ड स्थापना गर्नुपर्ने औल्याए ।

एनआरएनएका उपाध्यक्ष तथा संघका उपाध्यक्ष राज रेग्मीले आचार्यको निधनले कतार मात्र होइन सिंगो नेपाल शोकमा डुवेको हुँदा संघले भोलिका दिनमा उनको परिवारलाई सहयोग गर्नुपर्ने बताए ।

आफ्नो गाडी बिग्रेर सडक छेउमा उभिरहेको बेला आचार्यलाई बंगाली नागरिकले चलाएको अर्को गाडीले ठक्कर दिएपछि मृत्यु भएको थियो ।

कतारमा रहेका नेपाली संघ संस्थामा सक्रिय रहेका आचार्यको निधनका कारण गत शुक्रबार ४० भन्दा बढी संघ–संस्थाहरुले आयोजना गरेका विभिन्न कार्यक्रमहरु शोक स्वरुप स्थगित गरेका थिए । यस्तै एनआरएनए कतारले पनि विभिन्न संघसंस्थाको समन्वयमा श्रद्धान्जली कार्यक्रम आयोजना गर्ने जानकारी एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले दिए ।

स्वर्गिय झविन्द्रको सम्झनामा स्तब्ध बने कतारका नेपाली व्यवसायी

श्रद्धाञ्जली कार्यक्रममा संघका उपाध्यक्ष नरेन्द्र भाट, महासचिव शंकरप्रसाद न्यौपाने, सचिव राज देवकोटा, सदस्य क्रान्ति सिंह, सल्लाहकार सागर नेपालले स्वर्गिय आचार्यले कतारको समाजमा पु¥याएको योगदान र उनको व्यक्तित्वलाई सम्झिएका थिए ।

नेपाली दुतावास र एनआरएनए कतारको पहलमा स्वर्गिय आचार्यको शव काठमाडौं पु¥याइएको र काठमाडौबाट एनआरएनए आइसीसीले हेलिकप्टरमार्फत गृहजिल्ला गुल्मी पठाएको थियो । आचार्यको गुल्मीमा अन्त्यष्टी गरिएको थियो ।