मलेसियामा रहेको एक नेपालीहरुको संस्थाले त्यहाँ जेल जीवन बिताएका वा समस्यामा परेका अहिलेसम्म एक सय जना नेपालीहरुको उद्धार गरी स्वदेश फर्काउन सफल भएको छ । जनउद्वार केन्द्र पेनाङ मलेसियाले आफैं, नेपाली दूतावास र पीडितका आफन्तको सहयोगमा उनीहरुलाई नेपाल फर्काउन सफल भएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेर काम गर्दै आएका श्रमिक विभिन्न कारणले मलेसियाको जेलमा परी सजाय कटाई स्वदेश फर्कनका लागि घरफिर्ती केन्द्रमा (डिटेन्शन क्याम्प) आफन्तहरुसग सम्पर्क नहुँदा समस्यामा परेका नेपाली कामदारको पटकपटक गरेर एक सय जनाको उद्वार गरेको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिए ।

मलेसियाको पेनाङ स्थित जुरु डिटेनसन क्याम्प (घरफिर्ती केन्द्र) बाट जनउद्वार केन्द्रले नेपाली राजदूतावास मलेसिया र केही फिर्तीकेन्द्रमा रहेका पीडितहरुकै आफन्तहरुको आर्थिक सहयोगमा स्वदेश फिर्ता गराइएको अध्यक्ष थापाको भनाई छ ।

९६ जना यस अगाडि नै नेपाल फर्काइसकेको केन्द्रले पछिल्लो पटक ४ जनालाई पठाएपछि यो सफलता पाएको हो । पछिल्लो पटक स्वदेश फिर्ता हुनेहरुमा बुद्धिमान लामा, बिशालराम तामाङ, बिदुर भण्डारी र रोशन भण्डारी रहेका छन् । उनीहरु चारै जना अबैधानिक हैसियतमा काम गरेको कसुरमा मलेसियामा सजाय पाएका थिए ।

मलेसियाको एउटै संस्थाले एकसय नेपालीको उद्धार गर्न सफल

जनद्वार केन्द्रले आफ्नै लोगो राखेर टिसर्ट बनाएको छ । उक्त टिसर्ट विक्रि गरेको कमाएको पैसाले उद्धारको काम गरिरहेको छ । कतिपय अवस्थामा अध्यक्ष थापा तथा कार्यसमितिले गोजीबाट पनि खर्च गरेका छन् । अध्यक्ष थापा भन्छन्–‘ १०० जना श्रमिकलाई स्वदेश फर्काउन सहज थिएन तर सबैको सहयोग र सुझावको साथले संभव भयो, अव भोलिका दिनमा समेत साथ पाउने छु ।’

मलेसियाको एउटै संस्थाले एकसय नेपालीको उद्धार गर्न सफल

अझै धेरै नेपाली उद्धारको पखाईमा रहेको उनको भनाई छ ।