स्थानीयस्तरको सडक निर्माणका क्रममा दुर्घटनामा परी घाइते भएका चौरी देउराली गाउपालीका–६, काभ्रेका शेष बहादुर चौलागाईको उपचारार्थ कोरियामा रहेका नेपालीहरुले १ लाख ५९ हजार ३ सय ५८ रुपैयाँ आर्थिक सहायता प्रदान गरेका छन् ।

हाल धुलिखेल अस्पतालमा उपचार गराइरहेका चौलागाईको परिवारले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या आएको गुनासो गरेपछि आफुहरुले कोरियामा अभियान चलाएर सहयोग रकम संकलन गरेको कात्तिके देउराली समाज दक्षिण कोरियाका अध्यक्ष रमेश गौतमले जानकारी दिए ।

समाजका सचिव राजेन्द्र दुलालले अभियानबाट १ लाख ५९ हजार ३ सय ५८ रुपैयाँ संकलन भएको जानकारी दिदै उक्त संकलित रकम नेपालमा रहेका समाजका पदाधिकारीहरुले घाइते चौलागाईको परिवारलाई प्रदान गरेको बताए ।

दुर्घटनामा परी घाइते भएका चौलागाईलाई कात्तिके देउराली समाज कोरियाको सहयोग

संस्थाका वरिष्ठ सल्लाहकार माधव गौतम, कोषाध्यक्ष सुमन गौतम र पूर्वउपाध्यक्ष रविन गौतमले अस्पतालमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

‘समाजले विगतदेखिनै आफ्नो गाँउघरका लागि सामाजिक कार्य र विपतमा गर्दै आएको सहयोगलाई निरन्तरता दिएका हौ’ समाजका वरिष्ठ सल्लाहकार माधव गौतमले भने–‘आगामी दिनमा पनि हामी यस्ता मानवीय सहयोगका अभियान जारी राख्ने छौ ।’